नेपालगञ्ज म्याराथनको उपाधि पार्की र भण्डारीलाई

मंसिर ६, २०७७ | काठमाडौं

नेपालगञ्ज म्याराथनको छैटौं संस्करणको उपाधि विभागीय टोली एपिएफका गोपिचन्द्र पार्की र पुष्पा भण्डारीले जितेका छन् । पुरुषतर्फ पार्किले निर्धारित दुरी २ घण्टा १८ मिनेट ५९ सेकेण्डमा पुरा गरे । 

उपाधिसँगै उनले ७५ हजार रुपैयाँ प्राप्त गरे । आर्मीका कृष्णबहादुर बस्नेतले २ घण्टा २० मिनेट ४९ सेकेण्डमा दुरी पुरा गर्दै दोस्रो भए । उनले ३० हजार रुपैयाँ हात पारे । आर्मीकै खगेन्द्र भाट तेस्रो र नवराज साउद चौथो भए । उनीहरुले क्रमश: २ घण्टा २७ मिनेट २८ सेकेण्ड र २ घण्टा ३१ मिनेट २१ सेकेण्डमा दुरी पुरा गरेका थिए । तेस्रो र चौथो हुनेले क्रमश: २० र १० हजार रुपैयाँ हात पारे ।

महिलातर्फको उपाधि जितेकी भण्डारीले १ घण्टा २६ मिनेट ५४ सकेण्डमा दुरी पुरा गर्दै ३० हजार रुपैयाँ जितिन् । कर्णाली प्रदेशकी मञ्जु रावतले १ घण्टा ३० मिनेट ७ सेकेण्डको टाईमिङ निकाल्दै दोस्रो भईन् । मञ्जुले १५ हजार रुपैयाँ हात पारिन् । लुम्बिनी प्रदेशकी शर्मिला घर्ती तेस्रो र सुदुरपश्चिमकी सकुन्तला ठगुन्ना चौथो भईन् ।

क्रियटिभ ह्याण्ड्सको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ २५ र महिलातर्फ १२ प्रतिस्पर्धी सहभागी थिए ।

कोरोना माहामारीपछिको पहिलो राष्ट्रिय प्रतियोगिताका रुपमा रहेको नेपालगञ्ज म्याराथनलाई नेपाल एथ्लेटिक्स संघले मान्यता दिएको छ । प्रतियोगीतालाई राष्ट्रिय खेलकुद परिषद राखेपले समेत स्विकृती प्रदान गरेको थियो । नेपाल ओलम्पिक कमिटीले यहि प्रतियोगिताबाट आसन्न ओलम्पिक खेलकुदका लागि खेलाडीको छनोट गर्नेछ ।   


प्रतिक्रिया