राष्ट्रिय महिला लिग फुटबल आजबाट सुरु हुँदै

माघ ७, २०७७ | काठमाडौं

राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता आज सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेलमा विभागीय नेपाल पुलिस र त्रिभुवन आर्मी प्रतिस्पर्धा गर्नेछन् । 

उद्घाटन खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो २ बजे सुरु हुनेछ । प्रतियोगितामा ३ विभागीय र छनोटबाट आएका ४ नगरका टोली गरी ७ टिमको सहभागिता रहेको छ । 

डबल राउण्ड रोबिन लिगका आधारमा चल्ने प्रतियोगिताका उद्घाटन र फाईनल खेल दशरथ रंगशालामा हुनेछ भने बाँकी सबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ । महिला लिगमा पहिलो पटक हरेक टोलीलाई ४ विदेशी खेलाडी राख्न एन्फाले अनुमति दिएको छ ।

विभागीय तीन टोली नेपाल पुलिस, त्रिभुवन आर्मी र नेपाल एपीएफसँगै चौदण्डीगढी नगरपालिका उदयपुर, विराटनगर महानगरपालिका, वालिङ नगरपालिका स्याङजा र चन्द्रपुर नगरपालिका रौतहटको टोलीले प्रतियोगिता खेल्नेछन् ।

लिगको उपाधि विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले ८ लाख, तेस्रो हुनेले ५ लाख तथा चौथो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।


प्रतिक्रिया