महिला लिगको उद्घाटन खेलमा आर्मी र पुलिसको बराबरी

माघ ७, २०७७

राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको विभागीय डर्वीको खेल गोल रहित बराबरीमा सकिएको हो ।

प्रतियोगितामा ३ विभागीय र छनोटबाट आएका ४ नगरका टोली सहभागी छन् । डबल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको फाइनल खेल पनि दशरथ रंगशालामा हुनेछ । बाँकी सबै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ । महिला लिगमा पहिलो पटक हरेक टोलीलाई ४ विदेशी खेलाडी राख्न एन्फाले अनुमति दिएको छ ।

विभागीय तीन टोली नेपाल पुलिस, त्रिभुवन आर्मी र नेपाल एपीएफसँगै उदयपुरको चौदण्डीगढी नगरपालिका, विराटनगर महानगरपालिका, स्याङ्जाको वालिङ नगरपालिका र रौतहतको चन्द्रपुर नगरपालिका प्रतियोगितामा सहभागी छन् ।

लिग विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ८ लाख, तेस्रो हुनेले ५ लाख तथा चौथो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा भोली एपीएफ र चन्द्रपुर तथा बिराटनगर र वालिङबीच खेल हुनेछ । दुवै खेल एन्फा कम्प्लेक्समा हुनेछ ।  


प्रतिक्रिया