ललितपुर मेयर्स कप : एपीएफ र सुदुपश्चिम विजयी

चैत्र २४, २०७७ | काठमाडौं

विभागीय टोली एपीएफ क्लबले ललितपुर मेयर्स कप महिला टी- २० क्रिकेट प्रतियोगीतामा आफ्नो अपराजित यात्रा जारी राखेको छ । आफ्नो तेस्रो खेलमा आज ललितपुर मेयर्स ११ लाई १० विकेटले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायम राखेको हो । एपीएफले ३ खेलबाट ६ अंक जोडेको छ । ललितपुरले दिएको ६७ रनको लक्ष्य एपीएफले ९ ओभर १ बलमा बिना विकेटको क्षतिमा पूरा गर्‍यो । किर्तिपुरस्थित त्रिवी त्रिक्रेट मैदानमा यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ९ विकेट गुमाएर ६६ रन बनाएको थियो । 

ललितपुरको भने ३ खेलबाट २ अंक जोडेको छ । पहिलो खेलमा प्रदेश–१ लाई ८ विकेटले हराएको एपीएफले दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई ३७ रनले पराजित गरेको थियो । पहिलो खेलमा सुदूरपश्चिमसँग पराजित ललितपुरले दोस्रो खेलमा लुम्बिनी प्रदेशलाई हराएको थियो ।

त्रिवि क्रिकेट मैदानमा आजै भएको दोस्रो खेलमा प्रदेश १ सुदुरपश्चिम प्रदेशसँग ४० रनले पराजित भएको छ । सुदुरपश्चिम प्रदेशको यो दोस्रो जित हो । सुदूरपश्चिमले दिएको १ सय ३० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको प्रदेश १ ले १८ ओभर ५ बलमा ८९ रन मात्र बनाउन सक्यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो । 

जितसँगै सुदूरपश्चिमले ३ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा ललितपुरलाई हराएको सुदूरपश्चिम दोस्रो खेलमा एपीएफसँग पराजित भएको थियो । प्रदेश–१ पहिलो खेलमा एपीएफसँग पराजित भएको थियो । दोस्रो खेलमा लुम्बिनीलाई हराएको थियो । प्रदेश–१ ले ३ खेलबाट २ अंक जोडेको छ ।


प्रतिक्रिया