विराट गोल्डकपको पाँचौ संस्करण बिहीबारदेखि सुरु हुँदै

चैत्र २५, २०७७ | मोरङ

विराट गोल्डकप फुटबल प्रतियोगिताको पाँचौ संस्करण विराटनगरमा भोलि (बिहीबार) बाट सुरु हुँदैछ । विराटनगरको शहिद मैदानमा भोलि साँझबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टिम विराटनगर–११ र यूनाइटेड फुटबल क्लब सिक्किमबीच प्रतिस्पर्धा हुनेछ । 

आगामी बैशाख ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका सबै खेल रात्रीकालीन हुनेछन् । त्यसका लागि प्रदेश एक सरकारको ४ करोड २९ लाख रुपैयाँको लागतमा शहिद मैदानमा स्थायी फड्लाइटको व्यवस्था गरिएको छ । 

प्रतियोगितामा तीन विदेशी सहित १० टिमको सहभागिता रहने आयोजक समितिका संयोजक मनोज विक्रम शाहले बताए । प्रतियोगितामा मनाङ मर्स्याङदी, मच्छिन्द्र, संकटा, ब्वाईज यूनियन, सशस्त्र प्रहरीको एपीएफ, नेपाल प्रहरी, गोरखा ब्वाईज क्लब सहित भारतको पञ्जाब पुलिस क्लब सिक्किम र अफ्रिकन क्यामरुन टिमको सहभागिता रहने आयोजकले जनाएको छ । 

विजेताले १५ लाख १५ हजार, उपविजेताले ७ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल, प्रत्येक म्याचका म्यान अफ द म्याचले १० हजार, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिड फिल्डर, फरवर्ड, हाइस्कोरर, टिम व्यवस्थापक र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

२०१८ सालदेखि महेन्द्र गोल्डकपका नामबाट सुरु भएको यो प्रतियोगिता २०६७ सालदेखि विराट गोल्डकप ट्रष्टमा परिणत गरी आयोजना गरिंदै आएको छ । ट्रष्टको अध्यक्षमा फुटबलका पूर्ववरिष्ठ प्रशिक्षक सन्तोश बानियाँ रहेका छन् ।


प्रतिक्रिया