एपीएफ र सुदूरपश्चिम प्रदेश ललितपुर मेयर्स कपको फाइनलमा

चैत्र २५, २०७७ | काठमाडौं

सशस्त्र प्रहरीको एपीएफ र सुदूरपश्चिम प्रदेश ललितपुर मेयर्स कप महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । आज भएको खेलमा लुम्बिनी प्रदेशलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिमले उपाधि यात्रा तय गरको हो । 

४ खेलबाट सुदूरपश्चिमको ६ अंक भएको छ भने एक खेल खेल्न बाँकी एपीएफले ३ खेलमा सतप्रतिशत नतिजा सहित ६ अंकमा शीर्ष स्थानमा छ । एपीएफले भोलि लुम्बिनी प्रदेशसँग र ललितपुर मेयर्स–११ ले प्रदेश एकसँग प्रतिस्पर्धा गर्नेछन् । 

प्रदेश एक र ललितपुरको समान २ अंक छ भने लुम्बिनीले खाता खोल्न सकेको छैन । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको ७३ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १२ ओभर ३ बलमा २ विकेट गुमाएर भेट्टायो । मञ्जु बोगटीले २६ रन बनाईन् । 

यसअघि पहिला व्याटिङ गरेको लुम्बिनीले निर्धारित ओभरमा ९ विकेट गुमाएर ७२ रनमात्र बनाउन सक्यो । ९ जना व्याट्सवुमनले दोहोरो अंक छुन नसकेको लुम्बिनीको इनिङ्समा लक्ष्मी चौधरीले २६ र क्याप्टेन नेरी थापाले ११ रन बनाईन् । लक्ष्मी साउदले ४ र रितु कनौजियाले ३ विकेट लिईन् ।


प्रतिक्रिया