क्वार्टरफाईनलको पहिलो लेगमा पिएसजी र चेल्सी विजयी

चैत्र २६, २०७७ | काठमाडौं

च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वार्टरफाईनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन पिएसजी र चेल्सी विजयी भएका छन् । 

बायर्न म्युनिखलाई ३–२ ले हराउँदै पिएसजीले सेमिफाईनल प्रबेशको सम्भावना बलियो बनाएको हो । बायर्नको मैदान एलिनाज एरिनामा पिएसजीलाई जिताउन केलियन एम्बाप्पेले २ तथा मार्किन्हसले एक गोल गरे । बायर्नका थोमस मुलर र चौपो मोटिङले एक एक गोल गरे ।

 पिएसजीलाई दबावमा राखेपनि बायर्नका दर्जन अवसर खेर गएका थिए । पहिलो हाफमै पाहुना टोली पिएसजीले २–१ को अग्रता बनाएको थियो । दोस्रो हाफमा दुबै टोलीले एक एक गोल गरेपछि पिएसजी ३–२ ले विजयी बन्यो ।

स्पेनमा भएको खेलमा ईटालीयन क्लब एफसी पोर्टोलाई २–० ले हराउँदै चेल्सीले सेमिफाईनल प्रबेशको सम्भावना बलियो बनाएको छ । एकपक्षीय खेलमा चेल्सीलाई सहज जित दिलाउन मासन माउण्ट र वेन चिलवेलले गोल गरे । पोर्टोले केही अवसर सृजना गरेपनि गोल गर्न भने सकेन । क्वार्टरफाईनलको दोस्रो लेग अप्रिल १४ मा हुनेछ । 


प्रतिक्रिया