अमेरिकामा घरेलु बन्दुकमा रोक लगाइने

चैत्र २७, २०७७ | काठमाडौं

घरेलु बन्दुक नियन्त्रण गर्ने उद्देश्यले अमेरिकी राष्ट्रपति जो बाइडेनले कार्यकारी आदेश जारी गर्नुभएको छ । दर्ता नभएका र पहिचान गर्न कठिनाई पर्ने घरेलु बन्दुक नियन्त्रण गर्न भन्दै बाईडेनले कार्यकारी आदेश जारी गर्नुभएको हो । 

बन्दुक आतंक मुलुकमा महामारीसरह भएको र यसले गर्दा अन्तर्राष्ट्रिय स्तरमै लज्जास्पद भएको बाइडेनले बताउनुभयो । विज्ञहरुका अनुसार अमेरिकामा हुने आक्रमणमा कानुनी दायराभन्दा बाहिर रहेका घरेलु बन्दुकको प्रयोग अत्यधिक बढेको छ ।

कार्यकारी आदेशमार्फत राष्ट्रपति बाइडेनले नयाँ कानुन ल्याउने तयारी गर्नुभएको छ, यसका लागि सदनको अनुमति आवश्यक पर्दैन । नयाँ कानुन निर्माणका लागि बाईडेनलाई त्यती सहज भने नरहेको विज्ञहरु बताउछन् । अमेरिकामा हतियार राख्न पाउने अधिकार संविधानको दोश्रो संशोधनमार्फत सुनिश्चित गरिएको छ । कतिपय अमेरिकीले हतियारमाथिको प्रतिबन्धले संवैधानिक अधिकारको हनन गर्ने भन्दै आलोचना गरेका छन् ।

अमेरिकामा बन्दुक आक्रमणबाट दैनिक १ सय ६ जनाले ज्यान गुमाउने गरेको भन्दै राष्ट्रपति बाइडेनले भने यो महामारी रोक्नैपर्ने बताउनुभयो । बाईडेनको कार्यकारी आदेशअनुसार आवश्यक मापदण्ड बनाउन कानुन मन्त्रालयलाई ३० दिनको समय दिइएको छ । 


प्रतिक्रिया