आईपीएल क्रिकेटमा बैंग्लोरको विजयी सुरुवात

चैत्र २८, २०७७ | काठमाडौं

रोयल च्यालेन्जर्स बैंग्लोरले १४ औ संस्करणको ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा विजयी सुरुवात गरेको छ । प्रतियोगीताको उद्घाटन खेलमा डिफेण्डिङ च्याम्पियन मुम्बई ईण्डियन्सलाई २ विकेटले हराउदै बैङलोरले सिजनको सुखद सुरुवात गरेको हो ।

मुम्बईले दिएको १ सय ६० रनको मध्यम चुनौती बैङलोरले अन्तिम बलमा ८ विकेट गुमाएर पुरा गर्यो । बैंग्लोरको जितमा एबी डिभिलियर्सले ४८ रनको योगदान गरे । ग्लेन म्याक्सवेलले ३९ र कप्तान विराट कोहलीले ३३ रन बनाए । वासिन्टन सुन्दरले १० रन जोडे ।

मुम्बईका जसप्रित बुमराह र मार्को जानसेनले समान २ तथा ट्रेन्ट बोउल्ट र क्रुणाल पाण्डेयाले समान एक विकेट लिए ।

यसअघि चेन्नईमा पहिले ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ५९ रनको मध्यम योगफल तयार पारेको थियो । क्रिस लिनले सर्वाधिक ४९ रन बनाएको मुम्बईका लागि सुर्यकुमार यादवले ३१ र ईशान किशानले २८ रन जोडे । कप्तान रोहित शर्माले १९ र हार्दिक पाण्डेयाले १३ रन बनाए ।

बैंग्लोरका हर्षल पटेललले ५ तथा केल जेमीसन र वासिन्टन सुन्दरले समान एक विकेट हात पारे । आईपीएल क्रिकेटमा आज चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्स प्रतिस्पर्धा गर्नेछन् ।    


प्रतिक्रिया