काठमाण्डौ रेजर्स एनएसएलको प्लेअफमा

वैशाख २३, २०७८ | काठमाडौं

काठमाण्डौ रेजर्स, नेपाल सुपर लिग फुटबल एनएसएलको प्लेअफमा प्रवेश गरेको छ । रोमाञ्चक खेलमा विराटनगर सिटी एफसीलाई ५–४ गोल अन्तरले हराउँदै काठमाण्डौले अघिल्लो चरणमा स्थान बनाएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा २–० ले पछि परेको अवस्था उल्टाउँदै काठमाण्डौले पुनरागमन जित हात पारेको हो । ६ मिनेटभित्र ३ गोल गर्दै काठमाण्डौले पहिलो हाफमै ३–२ को अग्रता बनाएको थियो । दोस्रो हाफमा काठमाण्डौले २ गोल खाँदै २ गोल नै थपेको थियो । यो जारी प्रतियोगीतामा भएको सर्बाधिक गोलस्कोर भएको खेल समेत हो ।

काठमाण्डौलाई जित दिलाउन मेसौके ओलोमोउले ह्याट्रिक गरे । स्टेफन बिनोङ र छिरिङ गुरुङले एक एक गोल गरे । विराटनगरका पेड्रो मान्जीले २ तथा एडिलाजा सोमिडे र रन्जीत धिमालले एक एक गोल गरे । ३५ औ मिनेटमा पहिलो गोल गरेका ओलोमेउले ३६ र ६८ औ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गेरका थिए । जारी प्रतियोगीतामा यो नै पहिलो ह्याट्रिक हो ।

५ खेलबाट १० अंक सहित काठमाण्डौ दोस्रो स्थानमा रहँदै प्लेअफमा छनोट भएको हो । हारका बावजुत विराटनगरको पनि अघिल्लो चरण प्रवेशको संभावना कायमै छ । उसको ५ खेलबाट ७ अंक छ । उ तालिकाको तेस्रो स्थानमा यथावत छ ।

यसअघि आज भएको पहिलो खेलमा ललितपुर सिटी फुटबल क्लवले पहिलो जित दर्ता गरेको छ । दशरथ रंगशालामा उसले बुटवल लुम्बिनी एफसीलाई १–० ले हराउँदै महत्वपूर्ण ३ अंक बटुलेको हो । नुर्लान जाहिदले खेलको छैटौं मिनेटमा गरेको उत्कृष्ट हेडर गोल नै निर्णायक बनेको थियो । प्लेअफमा स्थान बनाउन जित्नैपर्ने दवावसहित मैदान ओर्लेका दुबै टोलीले पाएका केही अवसर सदुपयोग गर्न सकेनन् । आजको जितपछि ललितपुर ५ खेलमा ६ अंक बटुलेको छ । लुम्बिनी ५ अंकमा पाँचौ स्थानमा चिप्लिएको छ । 


प्रतिक्रिया