युरोपा लिगको उपाधिका लागि म्यान यु र भियारियल भिड्ने

वैशाख २४, २०७८ | काठमाडौं

युरोपा लिग फुटबलको उपाधिका लागि म्यानचेष्टर युनाईटेड र भियारियल भिड्ने भएका छन् । सेमिफाईनलको दोस्रो लेगमा रोमासँग ३–२ ले पराजित भएपनि म्यानचेष्टर युनाईटेडले समग्रमा ८–५ को नतिजा निकाल्दै उपाधि यात्रा तय गरेको हो । 

रोमाको मैदानमा पहिलो हाफमा बनाएको १–० को अग्रता युनाईटेडले जोगाउन सकेन । ईडिसन काभानीले ३९ औं मिनेटमा गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए । ५७ औं मिनेटमा ईडिन जेकोले गोल गर्दै रोमालाई बराबरीमा पुर्‍याएका थिए । त्यसको ३ मिनेटपछि बायर्न क्रिष्टेनले गोल गर्दै रोमालाई २–१ को अग्रता दिलाए । 

८० औं मिनेटमा काभानीले ब्यक्तिगत दोस्रो गोल गर्दै युनाईटेडलाई बराबरीमा पुर्‍याए । ८३ औं मिनेटमा उपहार गोल पाएसँगै रोमा विजयी भयो । यद्यपी पहिलो लेगमा आएको ६–२ को नतिजाका कारण युनाईटेड फाईनलमा पुग्न सफल बन्यो ।

आर्सनललाई समग्रमा २–१ गोल अन्तरले हराउँदै भियारियलले पनि उपाधि यात्रा तय गरेको छ । दोस्रो लेग गोलरहित बराबरीमा सकिएपनि पहिलो लेगमा निकालेको २–१ को नतिजा नै उसलाई फाईनलमा पुर्‍याउन पर्याप्त बन्यो । युनाईटेड र भियारियलबीचको फाईनल खेल मे २७ मा हुनेछ ।     


प्रतिक्रिया