एनएसएलमा आज पोखरा र चितवन भिड्दै

वैशाख २४, २०७८ | काठमाडौं

नेपाल सुपर लिग फुटबलमा आज एक मात्र खेल हुँदैछ । आज तालिकाको पुछारमा रहेको एफसी चितवनले तालिकाको छैठौं स्थानको पोखरा थण्डर्ससँग प्रतिस्पर्धा गर्नेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ । समुह चरणको अन्तिम खेल खेल्न लागेको पोखरा आजको खेलमा जित निकाल्दै प्लेअफ प्रबेशको सम्भावना जीवितै राख्ने दाउमा रहेको छ । ५ अंकमा तालिकाको छैठौं स्थानमा रहेको पोखरालाई प्लेअफ प्रबेशका लागि आजको खेलमा जित निकाल्दै अन्य टोलीको नतिजा कुर्नपर्नेछ ।

२ अंकमा तालिकाको पुछारमा रहेको चितवनलाई पनि अघिल्लो चरण प्रबेशको सम्भावना कायमै राख्न आजको खेल जित्नै पर्ने दबाव छ । ४ खेल मात्र खेलेकाले चितवनलाई अघिल्लो चरण प्रबेशका लागि आजको खेल र काठमाण्डौ रेजर्सबिरुद्धको खेलमा जित निकाल्नु पर्नेछ ।

यसअघि हिजो भएको खेलमा काठमाडांै रेजर्सले विराटनगर सिटी एफसीलाई ५–४ गोल अन्तरले तथा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसीलाई १–० ले हराएका थिए । पाँचौं चरणका खेल सकिदा धनगढी एफसी र काठमाण्डौ रेजर्स प्लेअफमा प्रबेश गरिसकेका छन् । 


प्रतिक्रिया