ललितपुर सिटी एफसी नेपाल सुपर लिग एनएसएल फुटबलको प्ले अफमा

वैशाख २५, २०७८ | ललितपुर

ललितपुर सिटी एफसी नेपाल सुपर लिग एनएसएल फुटबलको प्ले अफमा प्रवेश गरेको छ । आज भएको खेलमा विराटनगर सिटी एफसीलाई ४–० गोलको फराकिलो अन्तरले हराउँदै ललितपुरले अघिल्लो चरणमा स्थान सुरक्षित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ललितपुरलाई शानदार जित दिलाउन कप्तान अन्जन बिष्टले दुई गोल गरे । विमल राना र विदेशी खेलाडी नुर्लान जाहिदले एक/एक गोल गरे । 

३६ औं मिनेटमा अन्जनको गोलमा अग्रता बनाएको ललितपुरले दोस्रो हाफमा थप ३ गोल गर्दै सहज जित निकालेको हो । ६४ औ मिनेटमा बिमल रानाले अग्रता दोब्बर पारे । ८१ औ मिनेटमा अञ्जनले ब्यक्तिगत दोस्रो गोल गर्दा ईन्जयुरी समयमा जाहिदले अर्को गोल थपेका थिए । जितसँगै ललितपुरले ६ खेलबाट ९ अंक सहित प्लेअफमा स्थान बनाएको हो । ललितपुर तालिकाको तेस्रो स्थानमा पुगेको छ । समान खेलबाट विराटनगर ७ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । 

ललितपुरसंगै काठमाण्डौ रेजर्स र धनगढी एफसीले प्लेअफ चरणमा स्थान बनाईसकेका छन् । प्ले अफमा प्रवेश गर्ने एक टोलीको टुंगो लाग्न बाँकि छ । पोखरा थण्र्डस र बुटवल लुम्बिनी मध्ये एक टोली प्लेअफमा प्रबेश गर्नेछन् । आजको खेलमा बुटवलले धनगढीलाई हराए पोखरा बाहिरिनेछ । बुटवलको हारले पोखरा प्लेअफमा पुग्नेछ ।


प्रतिक्रिया