प्रदर्शन राम्रो गर्ने एनएसएलको प्लेअफमा पुगेका टिमको दाबी

वैशाख २७, २०७८ | काठमाडौं

नेपाल सुपर लिग (एनएसएल) को  प्लेअफमा पुगेका चारवटै टिमले प्रदर्शन राम्रो गर्ने दाबी गरेका छन् । प्लेअफका लागि तयारीको समय अपुग भएपनि जितको विकल्प नभएको सबै टिमका कप्तान र प्रशिक्षकले बताए । 

दशरथ रंगशालामा आज आयोजित प्रि–म्याच कन्फ्रेन्समा तालिकाको शीर्ष स्थानमा रहेको काठमाडौं रेजर्सका प्रशिक्षक बालगोपाल महर्जनले लिग चरणमा देखिएका समस्या सुधारिने भन्दै भोलि नतिजा आफ्नो पक्षमा पार्ने दाबी गरे । 

पहिलो प्लेअफमा भोलि काठमाडौं रेजर्स र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेलको विजेताले फाइनलमा स्थान बनाउनेछ भने हार्ने टिमले एलिमिनेटर खेल्नेछ । धनगढी एफसीका कप्तान किरण चेम्जोङले प्लेअफका लागि तयारीको समय नभएपनि राम्रो खेलेर नतिजा आफ्नो पक्षमा राख्ने बताए । 

त्यस्तै एलिमिनेटर खेल्न लागेका ललितपुर सिटी र बुटवल लुम्बिनीले पनि फाइनलका लागि एक कदम अघि बढ्ने रणनीति बनाएको सुनाए । ललितपुरका प्रशिक्षक राजु तामाङले लिग चरणका सुरुवाती चार खेलमा कठिनाई भएपनि बिस्तारै लय समातेकाले त्यसैलाई निरन्तरता दिने बताए । 

कप्तान अन्जन विष्टले लिग चरणका अन्तिम दुई खेलका कारण टिमको मनोबल उच्च रहेको प्रतिक्रिया दिए । बुटवलका कप्तान विराज महर्जनले टिममा खेलाडीको चोट नभएकाले प्रदर्शन राम्रो हुने आशा गरे । 


प्रतिक्रिया