राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षण भोलीबाट मात्रै हुने

श्रावण २७, २०७८ | पोखरा

पोखरामा आजबाट हुने भनिएको राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षण भोलीबाट मात्रै हुने भएको छ । प्रशिक्षणका लागि आएका खेलाडीहरु विहानैदेखि मन्दिरलगायत स्थानमा घुमफिरमा व्यस्त भएपछि आज अपरान्ह तीन बजेबाट हुने भनिएको प्रशिक्षण नहुने भएको हो । एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङका अनुसार प्रशिक्षणको तालिका बनाएर भोली दिउँसो ३ बजेदेखि बन्द प्रशिक्षण सुरु गर्ने तयारी भइरहेको छ ।

प्रशिक्षणका लागि ३८ खेलाडी हिजै पोखरा पुगेका छन् । अन्य अफिसियल गरी ४५ जनाको टीम पोखरामा छ । अखिल नेपाल फुटबल संघ एन्फाका संयोजक कृष्णभक्त मानन्धरको नेतृत्वमा पुगेको टोलीले पोखरा रंगशाला, सहारा एकेडेमी र बिजयपुर ब्यारेकको खेल मैदानमा प्रशिक्षण गर्ने छ । 

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी पनि पोखरा पुगेका छन् । दक्षिण एसियाली फुटबल महासंघले आयोजना गर्ने दक्षिण एसियाकै सर्बोच्च फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपका लागि अन्तिम खेलाडीको छनोटसमेत पोखराबाटै गर्ने तयारीमा एन्फा छ । साथै एसियन कपका लागिसमेत खेलाडीको छनोट पोखराबाटै हुने एन्फाले जनाएको छ । 


प्रतिक्रिया