नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

आश्विन २७, २०७८ | काठमाडौं

नेपाली राष्ट्रिय फुटबल टोली माल्दिभ्स जारी साफ च्याम्पियनसिप २०२१ को फाइनलमा प्रवेश गरेको छ । मालेस्थित राष्ट्रिय रंगशालामा लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरी खेल्दै नेपाल फाइनलमा स्थान पक्का गर्न सफल भएको हो । इतिहासमै पहिलो पटक नेपाल साफको फाइनल प्रवेश गरेको हो ।

खेलको शुरवातमै बंगलादेशले सुमन रेजाको गोलमा अग्रता लिएको थियो । जमाल भुयाँको फ्रिकिक डिफ्लेक्ट भएपछि ६ यार्ड बक्सभित्र अनमार्क रहेका सुमनले आठौं मिनेटमा नै गोल गरेका थिए । त्यसपछि नेपाल दबाबमा आएको थियो । 

फाइनल प्रवेशका लागि नेपाललाई बराबरी पर्याप्त हुने थियो भने बंगलादेशलाई जित्नैपर्ने दबाब । नेपाली प्रहारलाई एकपछि अर्को गर्दै बिफल तुल्याएका बंगलादेशका गोलरक्षक अनिसुर रहमानले रातो कार्ड खाएपछि ऊ दबाबमा आएको थियो । अन्जन विष्टले ८६ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै नेपालको फाइनल यात्रा पक्का गरेका थिए ।

बराबरीले नेपालको ४ खेलमा ७ अंक भएको छ । बंगलादेश भने ४ खेलमा ५ अंक जोड्दै लिग चरणबाटै बाहिरिएको छ । आज हुने दोस्रो खेलमा माल्दिभ्स र भारत खेल्नेछन् । सो खेलको विजेताले फाइनलमा स्थान बनाउनेछ । 

फाइनल प्रवेशका लागि भारतलाई जित्नै पर्नेछ भने बराबरीको नतिजा पनि मालदिभ्सका लागि पर्याप्त हुनेछ । नेपाल यसअघि साफ च्याम्पियनसिपको ५ पटक सेमिफाइनल पुगिसकेको टोली हो । 

पछिल्लो पटक नेपाल सन् २०१८ मा माल्दिभ्ससँग ३–० ले पराजित हुँदै सेमिफाइनलबाटै बाहिरिएको थियो । त्यसअघि सन् २०१३ र २०११ मा अफगानिस्तानले नेपाललाई सेमिफाइनलमा हराएको थियो । सन् १९९५ मा श्रीलंकासाग हारेको नेपाल सन् १९९९ मा भने बंगलादेशसँग पराजित भएको थियो ।


प्रतिक्रिया