साफ च्याम्पियनसिपको फाइनलमा नेपालले इण्डियासँग प्रतिस्पर्धा गर्ने

रेडियो कान्तिपुर संवाददाता

आश्विन २८, २०७८ | काठमाडौं

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल र इण्डिया प्रतिस्पर्धा गर्ने भएका छन् । गएराती भएको खेलमा आयोजक माल्दिभ्सलाई ३–१ गोल अन्तरले पराजित गर्दै इण्डियाले नेपालसँगको भेट पक्का गरेको हो । त्यसअघि नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरी खेल्दै नेपाल फाइनलमा स्थान पक्का गरेको थियो । 

नेपाल पहिलो पटक साफको फाइनल प्रवेश गरेको हो । खेलको शुरुवातमै बंगलादेशले सुमन रेजाको गोलमा अग्रता लिएको थियो । अन्जन विष्टले ८६ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै नेपालको फाइनल यात्रा पक्का गरेका थिए । नेपाल यसअघि साफ च्याम्पियनसिपको ५ पटक सेमिफाइनल पुगिसकेको टोली हो । पछिल्लो पटक नेपाल सन् २०१८ मा माल्दिभ्ससँग ३–० ले पराजित हुँदै सेमिफाइनलबाटै बाहिरिएको थियो । त्यसअघि सन् २०१३ र २०११ मा अफगानिस्तानले नेपाललाई सेमिफाइनलमा हराएको थियो । 

सन् १९९५ मा श्रीलंकासँग हारेको नेपाल सन् १९९९ मा भने बंगलादेशसँग पराजित भएको थियो । फाइनल खेल आगामी आइतबार नेपाली समय अनुसार अपरान्ह् पौने ५ बजे हुनेछ । प्रधानमन्त्री शेरबहादुर देउवाले ट्विट गर्दै साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टिमलाई बधाई दिनुभएको छ ।

यसैबीच, नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिपको फाइनलपछि पद त्याग गर्ने भएका छन् । लिग चरणको अन्तिम खेलपछि आयोजित पत्रकार सम्मेलनमा अलमुताइरीले नेपालको प्रशिक्षक पद छाड्ने घोषणा गरेका हुन् । उनले एक महिनाअघि नै राजिनामा दिएपनि अब नेपाललाई फाइनल पुर्‍याएलगत्तै प्रतियोगिता सकिएपछि राजीनामा लागू हुने जनाए । 


प्रतिक्रिया