भारतविरुद्ध पाकिस्तानको ऐतिहासिक जित

कार्तिक ८, २०७८ | एजेन्सी


पाकिस्तानले ट्वान्टी–२० विश्वकपको सुपर–१२ को खेलमा भारतमाथि ऐतिहासिक १० विकेटको जित निकालेको छ  । पाकिस्तानले सबैभन्दा ठूलो प्रतिद्वन्द्वीलाई विश्वकप इतिहासमै हराएको यो पहिलोपल्ट हो । भारतले यसअघि एकदिवसीय र ट्वान्टी–२० विश्वकपका सबै १२ खेलमा पाकिस्तानलाई हराएको थियो ।

पाकिस्तानको जित एकपक्षीय रह्यो । टस जितेर पहिले बलिङ गर्ने निर्णय पाकिस्तानको सही सावित भयो र त्यसपछि उसले निकै सुदृढपूर्वक जित लक्ष्य पछ्याएको थियो । जितका लागि १ सय ५२ रनको लक्ष्य पाएको पाकिस्तानले बिनाविकेट क्षति १७ दशमलव ५ ओभर खर्चेर आवश्यक रन बनाएको थियो  । पाकिस्तानका लागि प्रारम्भिक ब्याटर जोडीमध्ये मोहम्मद रिजवानले ७८ र कप्तान बाबर आजमले ६८ रन जोडे । दुवै ब्याट्सम्यान दबाबमा आएनन् ।

भारत ट्वान्टी–ट्वान्टी क्रिकेटमा १० विकेटले पराजित भएको यो पहिलोपल्ट हो । रिजवानले ५६ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । यस्तै आजमले ५२ बलको सामना गरे र ६ चौका र २ छक्का प्रहार गरे । यसअघि साहिन अफ्रिदीले तीन विकेट लिएपछि पहिले ब्याटिङको निम्तो पाएको भारतले ७ विकेटमा १ सय ५१ रन बनाएको थियो । 


प्रतिक्रिया