एएफसी यू–२३ एसियन कप: नेपालले इरानसँग खेल्दै

रेडियो कान्तिपुर संवाददाता

फाइल फोटो  सौजन्य: एन्फा

कार्तिक ८, २०७८ | काठमाडौं

एएफसी यू–२३ एसियन कप छनोटमा नेपालले आज बलियो टिम इरानविरुद्ध प्रतिस्पर्धा गर्दैछ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले इरानको सामना गर्नेछ । नेपाल र इरानबीचको खेल नेपाली समय अनुसार पौने ५ बजे सुरु हुनेछ ।

इरानविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुआत गर्ने योजनामा हुनेछ । नेपाली टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले छनोटमा राम्रो नतिजा निकाल्न तयार रहेको बताएका छन् । तर, इरानविरुद्ध जित निकाल्न नेपाललाई सहज भने हुने छैन । हालसम्म इरानविरुद्धको यू–२३ खेलमा नेपालले जित निकाल्न सकेको छैन । नेपालले यू–२३ एसियन कप छनोटमा इरानसाग दोस्रो पटक खेल्न लागेको हो ।

यस अघि नेपालले सन् २०१५ मा इरानसँग उसैको घरेलु मैदानमा खेलेको थियो । त्यस खेलमा इरानले नेपाललाई ५–० ले पराजित गरेको थियो । छनोटको समूह ’बी’ मा रहेको नेपालले दोस्रो खेलमा ताजिकिस्तानसाग अक्टोबर २८ मा खेल्दा अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ । समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ ।


प्रतिक्रिया