मनाङलाई सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि

फाल्गुन २८, २०७८ | धनगढी
मनाङ मर्स्याङ्दी क्लबले पाँचौ संस्करणको सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । धनगढी रंगशालामा शनिबार भएको फाइनलमा फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले हराउँदै मनाङ च्याम्पियन बनेको हो ।
मनाङले दोस्रो पटक खप्तड गोल्डकपको उपाधि जितेको हो । पहिलो संस्करणको उपाधि पनि मनाङले नै जितेको थियो । मनाङलाई जित दिलाउन दिनेश राजवंशी, आफिज ओलावाले र मौसा अबागानाले १/१ गोल गरे । फ्रेन्ड्स क्लबका जमोउल एन्थोनी फ्रान्कोईसले एक गोल फर्काए ।
खेलको २२ औं मिनेटमा दिनेशले फ्रि–किकबाट गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाए । त्यसअघि १९ औं मिनेटमा फ्रेन्ड्सका जमोउल पेनाल्टीबाट गोल गर्ने अवसरबाट चुकेका थिए । पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार मनाङका गोलकिपर विशाल सुनारले गोल हुन बाट जोगाए ।
खेलको पहिलो हाफमा पेनाल्टीबाट गोलको अवसर गुमाएका जमोउलले दोस्रो हाफको ५१ औं मिनेटमा गोल गर्दै फ्रेन्ड्सलाई १–१ गोलको बराबरीमा ल्याए । २० मिनेटको अन्तरालमा मनाङले दोस्रो गोल गरेर अग्रता लियो । खेलको ७२ औं मिनेटमा आफिजले गोल गर्दै मनाङलाई २–१ को अग्रता दिलाए ।
खेलको ८६ औं मिनेटमा मनाङका रुपेश केसी र फ्रेन्ड्सका श्यामबाबु क्याप्छाकीले रातो कार्ड पाएपछि दुबै टोली १० खेलाडीमा समेटिए । त्यसपछि खेलको इन्जुरी समयमा मौसाले निर्णायक गोल गर्दै मनाङलाई ३–१ को जित दिलाए ।
उपाधिसँगै मनाङले २१ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता ललितपुरको फ्रेन्ड्स क्लबले १० लाख रुपैयाँमा चित्त बुझायो । मनाङका शिशिर लेखी सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै एक लाख रुपैयाँ प्राप्त गरे ।
मनाङकै विशाल सुनार उत्कृष्ट गोलरक्षक, राजेन्द्र तामाङ उत्कृष्ट प्रशिक्षक, मौसा अवगाना उत्कृष्ट मिडफिल्डर भए । फेन्ड्सका सुरज विश्वकर्मा उत्कृष्ट रक्षक र फेन्ड्सकै जमोउल एन्थोनी फ्रान्कोईस सर्वाधिक गोलकर्ता भए ।
सुदूरपश्चिम ११ का फागुराम चौधरी उदयमान खेलाडी भए । उनीहरुले जनही २० हजार रुपैयाँ पाएका छन् । विजयी खेलाडीहरुलाई प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पुरस्कार वितरण गर्नुभयो ।
प्रतियोगता आयोजक सुदूरपश्चिम–११ का अध्यक्ष सुरेश हमालको अध्यक्षतामा समापन कार्यक्रमको आयोजना गरिएको हो । फागुन १९ देखि सुदूरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो ।