न्यू डायमण्डलाई राष्ट्रिय महिला भलिबलको उपाधि

फाल्गुन २९, २०७८ | चितवन

न्यू डायमन्ड स्पोर्ट क्लबले ‘स्वर्गीय लोकबहादुर पुन स्मृति कप’ महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । चितवनको खैरहनी सिमलटाँडीमा सञ्चालन भएको ‘स्वर्गीय लोकबहादुर पुन स्मृति कप’ महिला भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै न्यू डायमन्डले उपाधि उचालेको हो । 

आइतबार भएको फाइनल खेलमा पुलिसले पहिलो सेटमा अग्रता लिएपनि दोस्रो र चौंथो सेटमा पछि पर्‍यो । पाँचौं सेटसँगै डायमन्डले उपाधि कब्जा गर्‍यो । विजेता न्यू डायमन्डले दुई लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । 

उपविजेता पुलिसले एक लाख रुपैयाँ नगद प्राप्त गरेको छ । विभागीय टिम त्रिभुवन आर्मी क्लब तेस्रो हुँदै ५० हजार र सशस्त्र प्रहरीको एपीएफ क्लब चौंथो हुँदै २५ हजार रुपैयाँ प्राप्त गर्‍यो । कर्पाकेली पुन युवा क्लब पूर्वी चितवन क्षेत्रीय समितिले प्रतियोगिता आयोजना गरेको हो । 

प्रतियोगितामा न्यू डायमन्डका बालमिका आचार्य उत्कृष्ट खेलाडी घोषित भइन् । उनले नगद १० हजार रुपैयाँ र २५ हजार रुपैयाँ बराबरको मोबाइल फोन सेट प्राप्त गरिन् । 

त्यस्तै, अन्य विधामा आर्मीकी शान्ति थारु उत्कृष्ट स्पाइकर, पुलिसकी कमला पुन उत्कृष्ट शुटर, आर्मीकी संगम महतो उत्कृष्ट ब्लकर र न्यू डायमन्डकी प्रतिभा माली उत्कृष्ट सर्भर घोषित भईन् । उत्कृष्ट रक्षक पुलिसकी शान्तीकला तमाङ भइन् ।

त्यसैगरी, न्यू डायमन्डका कुमार राई उत्कृष्ट कोच भए । विधागत उत्कृष्ट घोषित भएका खेलाडी तथा कोचले नगद पाँच हजार रुपैयाँका दरले पुरस्कार पाए । बुधबारदेखि सुरु भएको प्रतियोगितामा आठ वटा महिला टिम सहभागी थिए । 

टिममा कञ्चनपुर भलिबल ट्रेनिङ सेन्टर, बुटबलको एभरेष्ट स्पोर्टस क्लब, सुर्खेतको चुली युवा क्लब र आयोजक कर्पाकेली पुन युवा क्लबको महिला टिम रहेका थिए । प्रतियोगिताको मुख्य प्रायोजकमा स्वर्गीय लोकबहादुर पुनका परिवार रहेका थिए ।

पूर्वी चितवनमा राष्ट्रिय स्तरको प्रतियोगिता राखेर खेलकुदलाई उकास्नुका साथै पर्यटकीय सम्भावनाको पनि उजागार गर्ने उद्देश्य राखेको क्लबका अध्यक्ष चक्रबहादुर पुनमगरले बताए । खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले विजयी खेलाडी लगायतलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । 


प्रतिक्रिया