एपीएफ र गण्डकी सेमिफाइनलमा

चैत्र १०, २०७८ | धनगढी

कैलालीको धनगढीमा सञ्चालन भइरहेको मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । बिहीबार क्वाटरफाइनलका दुई खेल भएसं‘गै सेमिफाइनल पुग्ने चार टिमको टुंगो लागेको हो । 

विभागीय टोली एपीएफ र घरेलु टोली सुदूरपश्चिमबीच बिहीबार भएको क्वाटरफाइनलको खेलमा एपीएफ विजयी भएको छ । सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटले पराजित गर्दै एपीएफले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । 

एपीएफले सुदूरपश्चिमलाई २५–१३, २५–२० र २५–१२ को सेटले पराजित गरेको हो । खेलका म्यान अफ द म्याच एपीएफका टेकराज अवस्थी भए । बिहीबार नै भएको अन्तिम क्वाटरफाइनलको खेलमा गण्डकी प्रदेशले बाग्मती प्रदेशलाई ३–० को सोझो सेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । 

गण्डकीले बाग्मतीलाई २५–१५, २५–१४ र २५–१८ को सेटले पराजित गरेको हो । खेलका म्यान अफ द म्याच गण्डकी प्रदेशका हरि पाण्डेय भए । शुक्रबार सेमिफाइनलका दुई खेल हुनेछन् । 

फाइनल प्रवेशका लागि त्रिभुवन आर्मी क्लब र एपीएफ तथा नेपाल पुलिस क्लब र गण्डकीबीच खेल हुने आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले जनाएको छ । १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार तथा उदयमान खेलाडी, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट सर्वर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार सहित पुरस्कृत गरिने छ । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद एक हजार पॉच सय नगदसहित पुरस्कृत गरिएको छ ।


प्रतिक्रिया