आर्मीलाई राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि

चैत्र १२, २०७८ | धनगढी

त्रिभुवन आर्मी क्लबले कैलालीको धनगढीमा सम्पन्न मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मीले उपाधि जितेको हो । 

उपाधिसं‘गै आर्मीले चार लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता पुलिसले दुई लाखमा चित्त बुझाएको छ । फाइनलमा आर्मीले पुलिसलाई ३–१ को सेटले पराजित गर्‍यो । पहिलो र दोस्रो सेट २५–२३ र २५–२० ले जितेको आर्मीले तेस्रो सेट भने १८–२५ ले गुमायो । 

चौथो सेट २५–२२ ले जित्दै आर्मीले उपाधिमाथि कब्जा जमाएको हो । त्यसअघि तेस्रो स्थानका लागि भएको खेलमा गण्डकी प्रदेशले विभागिय टोली एपीएफलाई पराजित गरेको छ । गण्डकीले एपीएफलाई ३–१ को सेटले पराजित गरेको हो । तेस्रो हुने गण्डकीले एक लाख र चौथो स्थान प्राप्त गर्ने एपीएफले ५० हजार पुरस्कार रकम प्राप्त गरेका छन् ।

 प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी आर्मीका मानबहादुर श्रेष्ठ घोषित भए । उनले १५ हजार रुपैयाँ प्राप्त गरे । यस्तै, उदयमान खेलाडी सुदूरपश्चिमका दिनेश चन्द, उत्कृष्ट लिफ्टर आर्मीका हरिहजुर थापा, उत्कृष्ट स्पाइकर नेपाल पुलिस क्लबका रविन चन्द, उत्कृष्ट ब्लकर आर्मीका हरि अधिकारी घोषित भए । 

उत्कृष्ट डिफेन्सर गण्डकीका राजन दर्लामी, उत्कृष्ट सर्वर नेपाल पुलि। क्लबका इमराना मगर र उत्कृष्ट प्रशिक्षक आर्मीका जगतबहादुर सिंह घोषित भए । उनीहरुलाई जनही १० हजार रुपैयाँसहित पुरस्कृत गरिएको आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले बताउनुभयो । प्रतियोगितामा तीन विभागीय र ६ प्रदेश गरी ९ टोलीको सहभागिता रहेको थियो । 


प्रतिक्रिया