नेपाल कुवेतसँग पराजित

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ २९, २०७९

एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । गएराति भएको खेलमा नेपाल आयोजक कुवेतसँग ४–१ गोल अन्तरले पराजित भएको हो । कुवेतको जाबिर अल अहमद स्टेडियममा घरेलु टोलीलाई जित दिलाउन युसेफ अलसुलिमानले दुई गोल गरे ।

यस्तै फाहद अलेशिदी र मोबारक अल्फानिनीले एक एक गोल गरे । नेपालका दर्शन गुरुङले एक गोल फर्काए । खेलको २८ औं मिनेटमा फाहदले हेड मार्फत गोल गर्दै कुवेतलाई सुरुआती अग्रता दिलाएका थिए । यस हारसँगै नेपालले २ खेलमा अंक जोड्न सकेको छैन ।

पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको थियो । छनोटको समूह ’ए’ मा रहेको नेपाल अंक विहीन रहदै पुछारमा छ । यस हारसँगै नेपालको एसिया कपमा छनोट हुने सम्भावना लगभग सकिएको छ । कुवेतको भने यो पहिलो जित हो । कुवेत २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पहिलो खेलमा कुवेतलाई इन्डोनेसियाले हराएको थियो । छनोट अन्तर्गत नेपालले अन्तिम खेलमा इन्डोनेसियासँग पर्सी मंगलबार खेल्नेछ । 


प्रतिक्रिया