आर्मीद्वारा उपाधि रक्षा

जेष्ठ ३०, २०७९ | मकवानपुर

विभागिय टोली त्रिभुवन आर्मी क्लब चौथो स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०७९ च्याम्पियन बनेको छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्प रंगशालामा आज भएको फाइनलमा घरेलु टोली विजय युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मी लगातार दोस्रो पटक च्याम्पियन बन्न सफल भएको हो । आर्मीलाई वर्षको पहिलो उपाधि दिलाउने क्रममा कप्तान भरत खवास र कमल बहादुर थापाले गोल गरे । विजय युथका डोना थापाले पेनाल्टी मार्फत एक गोल फर्काए पनि हार टार्न सकेनन् । 

उपाधिसँगै आर्मीले १५ लाख रुपैयाँ र शिल्ड हात पारेको छ । दोस्रो भएको विजय युथले १० लाख रुपैयाँमा चित्त बुझाएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जेठ १९ गतेबाट सुरु भएको प्रतियोगितामा १२ टोलीहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै विजय युथका कप्तान तथा गोलरक्षक अशोक बरालले बुलेट बाइक प्राप्त गरेका छन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई हेटौंडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको करिब ६ लाख रुपैयाँको मोटरसाइकल बरालले हात पारेका हुन् । 

प्रतियोगिताको व्यक्तिगत विधाका उत्कृष्ट खेलाडी र प्रशिक्षकतर्फको सवै पुरस्कार आर्मीले प्राप्त गरेको छ । आर्मीका गोलरक्षक विकेश कुथु, डिफेन्डर विमल पाण्डे, मिडफिल्डर विवेक बस्नेत, फरवार्ड दिनेश हेन्जन र प्रशिक्षक नवीन न्यौपाने उत्कृष्ट घोषित भए । उनीहरुले जनही नगद २५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको विजेता र उपविजेता खेलाडी तथा प्रशिक्षकलाई नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पुरस्कार वितरण गरेका थिए ।


प्रतिक्रिया