यू–१९ क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिमले उचाल्यो

तस्बिर सौजन्य : क्रिकेट एसोसिएसन अफ नेपाल 

मंसिर १९, २०७९ | काठमाडौं

अण्डर–१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिमले उपाधि उचालेको हो । 

९३ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले २१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । सुदूरपश्चिमको जितमा ज्ञानेन्द्र बोहराले सर्वाधिक ३९ रन जोडे । यस्तै, दीपक बोहराले २५ तथा अनुराग सिंहले २२ रन जोडे । 

लुम्बिनीका रमेश कुर्मीले २ तथा निर्मल गुरुङ र अभिषेक गौतमले समान १/१ विकेट लिए । त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २९ दशमलव १ ओभरमा अलआउट हुँदै ९२ रन बनाएको थियो । 

लुम्बनीका लागि आकाश त्रिपाठीले सर्वाधिक ३८ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो स्कोर जोड्न सकेनन् । सुदूरपश्चिमका मिलन बोहराले ५ विकेट हात पारे । सुदूरपश्चिम समूह चरणका खेलमा अपराजित रहँदै फाईनल पुगेको हो । 

लुम्बिनीले भने समूह चरणका ६ मध्ये ५ खेलमा जित निकाल्दै फाईनलमा स्थान पक्का गरेको हो । गत संस्करणको फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई हराउँदै उपाधि जितेको थियो । जितसँगै सुदूरपश्चिमले २ लाख र उपविजेता लुम्बिनीले एक लाख रुपैयाँ प्राप्त गरेको छ ।


प्रतिक्रिया