ब्राजिल विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश

मंसिर २०, २०७९ | काठमाडौं

ब्राजिल विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ  । गएराति भएका राउण्ड अफ सिक्टिन अन्तर्गतको खेलमा दक्षिण कोरियालाई ४–१ गोल अन्तरले हराउँदै ब्राजिल क्वाटरफाइनलमा पुगेको हो । ब्राजिलले दक्षिण कोरियाविरुद्ध पहिलो हाफमै ४ गोल गरेको थियो । खेलको सातौं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै ब्राजिललाई १–० गोलको अग्रता दिलाएका थिए । खेलको १३ औं मिनेटमा नेयमारले पेनाल्टीबाट गोल गर्दै ब्राजिललाई २–० गोलको अग्रता दिलाए । 

दक्षिण कोरियाका वु योङ जोङले रिचार्लिसनलाई आफ्नो पेनाल्टी क्षेत्रमा लडाएपछि ब्राजिलले पेनाल्टीको अवसर पाएको थियो । २९ औं मिनेटमा थिएगो सिल्भाको पासमा रिचार्लिसनले गोल गर्दा ब्राजिल ३–० ले अघि बढ्यो । खेलको ३६ औं मिनेटमा लुकास पाक्वेटाले गरेको गोल ब्राजिललाई ४–० को अवस्थामा पुर्‍यायो । खेलको ७६ औं मिनेटमा दक्षिण कोरियाका पाइक सुएङ–होले एक सान्त्वना गोल फर्काएका थिए ।


प्रतिक्रिया