क्रोएसियो क्वाटरफाइनलमा

मंसिर २०, २०७९ | काठमाडौं

कतारमा जारी विश्वकप फुटबलमा  साविक उपविजेता क्रोएसियो क्वाटरफाइनलमा प्रवेश गरेको छ । जापानलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले हराउँदै क्रोएसिया क्वाटरफाइनलमा पुगेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।

क्रोएसियाका निकोला भ्लासिच, मारियो पासालीच र मार्सेलो ब्रोजोभिचले पेनाल्टीमा गोल गरे । मार्को लिभाजा पेनाल्टीमा चुके ।

जापानका ताकुमा असानोले गोल गर्दा ताकुमी मिनामिनो, माया योशिदा र कोरु मितोमाले पेनाल्टीमा चुकेका थिए । पेनाल्टीमा जानु अघि खेलमा सुरुआती अग्रता भने जापानले बनाएको थियो । खेलको ४३ औं मिनेटमा डाईजेन माएडाले गोल गर्दै जापानलाई १–० को अग्रता दिलाएका थिए । खेलको ५५ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई १–१ गोलको बराबरीमा ल्याएका थिए । उनले डेजोन लेभ्रोनको पासमा हेडमार्फत उत्कृष्ट गोल गरेका थिए । 


प्रतिक्रिया