विश्वकप फुटबल : पोर्चुगल र मोरक्को क्वाटरफाइनलमा

रेडियो कान्तिपुर संवाददाता

मंसिर २१, २०७९

पोर्चुगल र मोरक्को कतारमा जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको प्रिक्वाटरफाइनल चरणको अन्तिम खेलमा स्वीट्जरल्यान्डलाई ६–१ गोल अन्तरले हराउँदै पोर्चुगल अन्तिम आठमा पुगेको हो । पोर्चुगललाई जित दिलाउन गोन्कालो रामोसले ह्याट्रिक पूरा गरे । पेपे, राफायल गुइरेरो र राफायल लियोले एक–एक गोल गरेपछि खेल पोर्चुगलको पक्षमा आयो । स्वीट्जरल्यान्डका मानुएल एकान्जीले सान्त्वना एक गोल फर्काए ।

गएराती भएको अर्को खेलमा मोरक्को स्पेनलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । राउण्ड अफ १६ को खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३–० गोल अन्तरले हराउँदै मोरक्को अन्तिम आठमा पुगेको हो ।

योसंगै विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । विश्वकपमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगलले अन्तिम आठमा स्थान बनाएका छन् ।


प्रतिक्रिया