टाइगर कप भलिबलमा एपिएफ र त्रिभुवन आर्मीको लगातार दास्रो जित

माघ १०, २०७९ | काठमाडौं
पोखारमा जारी टाइगर कप अन्तर्राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फ दुई विभागीय टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब तथा पुरुषतर्फ पनि दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब विजयी भएका छन् ।
पोखरा रंगशालामा एपीएफले न्यु डायमण्डलाई ३–० को सोझो सेटमा हराउँदै लगातार दोस्रो जित निकाल्यो । एपीएफले न्यु डायमण्डमाथि २५–१५, २५–२० र २५–७ को सेटमा जित निकाल्यो । अर्को खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्यो । आर्मीले गण्डकीमाथि २५–१०, २५–१६ र २५–१६ को सेटमा जित निकाल्यो ।
यता, पुरुषतर्फ विदेशी टीम श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोर्ट्स क्लबलाई ३–२ को सेटमा पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लबले पहिलो जित हात पार्यो । पुलिसले विदेशी टोलीमाथि १९–२५, २३–२५, २५–२३, २५–१९ र १५–१३ को सेटमा जित निकाल्यो ।
अर्को खेलमा नेपाल एपीएफ क्लबले गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्यो । एपीएफले गण्डकीमाथि २५–१९, २५–२३, २०–२५ र २५–१९ को सेटमा जित निकाल्यो ।