टाइगर कप भलिवलः उपाधिका लागि महिलातर्फ एपीएफ र आर्मी खेल्ने

माघ १२, २०७९ | काठमाडौं

 पोखरामा जारी तेस्रो टाइगर कप अन्तर्राष्ट्रिय क्लब भलिवल च्याम्पियनसिपको उपाधिका लागि महिलातर्फ दुई विभायीग टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

पोखरा रंगशालामा आज भएको सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफले फाइनलमा स्थान पक्का गर्‍यो ।

गण्डकीमाथि एपीएफले २५–१३, २५–१७ र २५–२१ को सेटमा जित निकाल्यो ।

यस्तै, महिलातर्फ कै अर्को खेलमा न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा हराउँदै आर्मी फाइनल प्रवेश गर्‍यो । न्यु डायमण्डले आर्मीलाई २३–२५, २५–१३, २५–२२ र २५–१२ को सेट सुम्पियो ।

यता, त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेसँगै पुरुषतर्फको सेमिफाइनल समिकरण पूरा भएको छ । पुलिसले आर्मीलाई २५–१७, २५–१९ र २५–२३ को सेट सुम्पियो ।

पुरुषतर्फ कै यसअघिको खेलमा गण्डकी प्रदेशले विदेशी टीम श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोर्ट्स क्लबलाई ३–१ को सोझो सेटमा पराजित गर्‍यो ।

गण्डकीले विदेशी टोली एसजेटीमाथि २६–२४, २५–१४ र २५– २३ को सेटमा जित निकाल्यो । चार खेल खेलेको विदेशी टीम चारैमा हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

सेमिफाइनलमा अब एपीएफ र पुलिस तथा गण्डकी र आर्मी भिड्ने छन् ।


प्रतिक्रिया