नेपाल क्रिकेट संघ क्यानका ७ जना केन्द्रिय सदस्यहरुको राजिनामा माग

माघ १५, २०७९ | काठमाडौं

नेपाल क्रिकेट संघ क्यानका ७ जना केन्द्रिय सदस्यहरुले टी–ट्वान्टी क्रिकेट लिगमा भएको फिक्सिङको बिषय उठाउँदै अध्यक्षसहित ५ जनाको राजीनामा माग गरेका छन् ।

उनीहरुले क्यानका अध्यक्ष चतुर बहादुर चन्दसहित कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंह तथा कार्यसम्पादन समितिका सदस्य दुर्गाराज पाठक, पदक खड्काको राजिनामा मागेका हुन् ।

गत महिना सम्पन्न नेपाल टी–ट्वान्टी लिगमा देखिएको पछिल्लो विवाद कार्यसम्पादन समितिको कमजोरी भएको भन्दै केन्द्रिय सदस्यहरुले आरोप लगाएका छन् ।

भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्स कम्पनीसँग ८ वर्षका लागि गरिएको सम्झौताका विषयमा आफूहरुले पहिले नै पटक–पटक खबरदारी गरेपनि क्यान नेतृत्वबाट कुनै सुनुवाई नभएको उनीहरुको भनाई छ ।

त्यस्तै प्रतियोगिता सञ्चालनको जिम्मेवारी पाएका भारतीय कम्पनीका जतिन अहलुवालिया, अशोक मल्होत्रा र भानुभक्त सिग्देललाई समेत कारवाही गर्नुपर्ने माग उनीहरुले अघि सारेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले लिगमा स्पट र म्याच फिक्सिङ भएको निष्कर्ष निकाल्दै दुई क्रिकेटर महबुब आलम र आदील अन्सारीलाई पक्राउ गरि अनुसन्धान सुरु गरिसकेको छ ।   


प्रतिक्रिया