महिला फुटबल टोलीको बन्द प्रशिक्षण भोलिदेखि शुरु हुने

माघ १६, २०७९

नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षण भोलिबाट सुरु हुने भएको छ । बन्द प्रशिक्षणका लागि नवनियुक्त मुख्य प्रशिक्षक अनन्त राज थापाले ४३ खेलाडीलाई बोलाएका छन् । भारतसँगको मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक थापाले ४३ जना खेलाडीलाई बन्द प्रशिक्षणका लागि डाकेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । थापा हिजो मात्रै मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । 

बन्द प्रशिक्षण ललितपुरको सातदोबाटोस्थित एन्फा कम्पेल्क्सको मैदानमा हुनेछ । प्रशिक्षणमा अमिषा कार्की, सावित्रा भण्डारी, अमृता जैशी, सरु लिम्बु, अनिता बस्नेत, उषा नाथ, अनिता केसी, अञ्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा लगायतका खेलाडीलाई डाकिएको छ । नेपाली महिला टोलीले भारतसँग उसैको मैदानमा आगामी फागुन १ देखि १३ गतेसम्म मैत्रीपूर्ण खेल खेल्दैछ ।


प्रतिक्रिया