तिलोत्तमा गोल्डकपको उद्घाटन खेलमा सुदूरपश्चिम–११ विजयी

चैत्र ४, २०७९ | तिलोत्तमा

तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम–११ विजयी भएको छ । यो जितसँगै सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश गरेको छ । बुटवल–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा शनिबार भएको खेलमा उद्घाटन खेलमा रुपन्देही–११ लाई ३–१ गोल अन्तरले पराजित गर्दै सुदूरपश्चिमले सेमिफाइनलमा स्थान बनाएको हो । 

सुदूरपश्चिमका लागि फागुराम थारुको दुई तथा स्वाम्या हार्दिकले एक गोल गरे । सुदूरपश्चिम खेलको सुरुवातदेखिनै आक्रामक रुपमा प्रस्तुत भएको थियो । खेलको ३१ औं मिनेटमा फागुराम थारुले गर्दै सुदूरपश्चिमलाई सुरुवती अग्रता दिलाए । 

दोस्रो हाफको सुरुवाती मिनेटमै प्राप्त फ्रि–किकलाई सदुपयोग गर्दै सुदूरपश्चिमका स्वाम्य हार्दिकले बललाई जाली चुमाए । उत्कृष्ट खेल प्रस्तुत गरेका थारुले दोस्रो हाफको २३ औं मिनेटमा थप एक गोल गर्दै टिमलाई ३–० को अग्रता दिलाएका थिए । 

अतिरिक्त समयमा रुपन्देही–११ ले सान्त्वना गोल फर्काए । सुदूरपश्चिमको डी एरिया भित्र फउल भएपछि प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै रुपन्देहीका फोडे फोफोनाले गोल गरेका थिए । प्रतियोगितामा सुदूरपश्चिमका फागुराम थारु म्यान अफ द म्याच घोषित भए । 

प्रतियोगिता अन्तर्गत आइतबार हिमालयन शेर्पा र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई विभागीय सहित ८ टीम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ । 

सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोल रक्षक, मिड फिल्डर, डिफेन्स र कोचलाई जनही ३० हजारका दरले नगद पुरस्कार प्रदान गरिने आयोजक रुपन्देही जिल्ला फुटबल संघले जनाएको छ । त्यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई ११ हजार १ सय ११ रुपैया पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।

सम्बन्धित समाचार :

* २२ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिबारबाट सुरु हुँदै

* तिलोत्तमा गोल्डकप चैत ४ बाट, प्रतियोगिताको तयारी पूरा


प्रतिक्रिया