अखिल नेपाल फुटबल संघ एन्फामा नयाँ विवाद

भाद्र २५, २०८० | काठमाडौं
नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ एन्फामा नयाँ विवाद सुुरु भएको छ ।
संघका ४० प्रतिशत बढी सदस्यले अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईको बर्खास्ती सहित विशेष साधारण सभा बोलाउन माग गर्दै निवेदन दिएका छन् । सो निवेदनमा हस्ताक्षर गरेका प्रतिनिधिहरुले एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई निवेदन बुझाएका हुन् । विशेष साधारणसभाको मागसँगै एन्फाभित्रको विवाद चर्किने देखिएको छ ।
क्लब, जिल्ला फुटबल संघ तथा महिला फुटबल संघ गरी कुल ४९ साधारण सभा सदस्यले एन्फाका वर्तमान अध्यक्ष र महासचिवले नेपाली फुटबललाई धराशायी बनाउन लागेको आरोप लगाएका छन् । उनीहरुले १९ वूँदा उल्लेख गर्दै विशेष साधारण सभामार्फत् अध्यक्ष र महासचिवलाई बर्खास्त गर्ने एजेन्डा राख्न माग गरेका छन् ।