नेकोस कप भलिबलको फाइनलमा एपीएफ र न्यू डायमण्ड भिड्दै

असार ११, २०८२ | काठमाडौं

नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ र न्यू डायमण्ड क्लब भिड्ने भएका छन् । हेटौंडा–४ स्थित हुप्रचौर कोर्टमा एपीएफ र न्यू डायमण्ड उपाधिका लागि अहिले केहीबेरमा आमनेसामने हुनेछन् । 

सेमिफाइनलमा एपीएफले अर्को विभागीय टोली नेपाल प्रहरी क्लब ३–० को सेटमा हराएको थियो । न्यू डायमण्डले भने गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । 

गत हप्ता पोखरामा भएको प्रचण्ड कपको फाइनलमा पनि एपीएफले पुलिसलाई नै हराएर उपाधि जितेको थियो । एनभीए लिगमा भने पुलिस च्याम्पियन बनेको थियो । 

सेमिफाइनलमा एपीएफले पुलिसलाई २५–२१, २५–१८ र २५–२१ को सेटमा पराजित गरेको थियो भने न्यू डायमण्डले गण्डकीलाई २५–१५, २५–११ र २५–१६ को सेटमा हराएको थियो ।

प्रतियोगिताको तेस्रो स्थानका लागि नेपाल प्रहरी क्लबले गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताका फाइनल खेल बुधबार हुनेछन् । प्रतियोगिताका विजेताले ५ लाख, उपविजेताले ३ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । 


प्रतिक्रिया