रियल म्याड्रिड नकआउट चरणतर्फ अग्रसर

असार ९, २०८२ | काठमाडौं
रियल म्याड्रिडले फिफा क्लब विश्वकप फुटबलमा मेक्सिकन क्लब पचुकालाई पराजित गरेको छ । बैंक अफ अमेरिका स्टेडियममा भएको समूह ‘एच’को खेलमा म्याड्रिडले पचुकालाई ३–१ गोलले हराएको हो ।
दस खेलाडीमा सीमित म्याड्रिडले पाचुकालाई हराउँदै नकआउट चरणतर्फ अग्रसर भएको हो । रियलका लागि जुड बेलिङघम, आर्डे गुलर र फेडरिको भाल्भेरडेले गोल गरे । यो जितपछि म्याड्रिड चार अंकका साथ समूह ‘एच’को शीर्ष स्थानमा रह्यो ।
यस्तै, आरबी साल्सबर्गले समूह ‘एच’को खेलमा अल हिलालसँग गोलरहित बराबरी खेलेको छ । यो बराबरीसँगै साल्सबर्गको चार अंकसहित समूहको दोस्रो स्थानमा छ । हिलाल भने दुई अंकका साथ तेस्रो स्थानमा रह्यो ।
अब लिग चरणको अन्तिम खेलमा हिलालले पचुका र रियलले साल्सबर्गको सामना गर्नेछ । प्रतियोगितामा पाचुकाको भने चुनौती समाप्त भएको छ । समूह ‘जी’को खेलमा भने युभेन्ट्सले वायडाड कासाब्लान्कालाई सजिलै ४–१ ले पराजित गरेको छ ।