खेलकुदको कुम्भ मेला एसियाड आज शूरु हुंदै

आश्विन ६, २०८०

एसियाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो प्रतियोगिता चीनको उत्तर दक्षिणी सहर हाङचउ सहरमा आज सुरु हुंदैछ । चिनियां राष्ट्रपति सी चिनफिङले हाङचउ स्पोर्ट्स पार्क स्टेडियममा विशेष कार्यक्रमबीच प्रतियोगिताको उद्घाटन गर्दै हुनुहुन्छ ।

चिनियां मिडियाका अनुसार राष्ट्रपति सीले प्रतियोगिताको सफल आयोजनाका लागि व्यक्तिगत रुचि देखाउंदै लगातार निर्देशन पनि दिइरहनुभएको छ । एसियाडमा अन्य धेरै राष्ट्राध्यक्ष र सरकार प्रमुखसंगै नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल पनि उद्घाटन समारोहमा सहभागी हुनुहुनेछ । प्रतियोगितामा ४५ देशका १२ हजार भन्दा बढी खेलाडीको सहभागिता रहनेछ । जसलाई एसियाली खेलकुदमा अहिले सम्मकै सबैभन्दा ठूलो सहभागिता मानिएको छ । चीनमा आयोजना हुन लागेको यो तेस्रो एसियाली खेलकुद हो । प्रतियोगितामा ४० खेल समावेश गरिएका छन् र त्यसमा ४ सय ८१ स्पर्धा समावेश छन् ।

उद्घाटन समारोहमा सुरुमै गरिने मार्चपासमा एक–एक महिला र पुरुष खेलाडीले नेपालको झण्डा बोक्दै अगुवाइ गर्ने भएका छन् । नेपाल ओलम्पिक कमिटीका अनुसार महिलामा उसुकी निमा घर्तीमगर र पुरुषमा तेक्वान्दोका वीरबहादुर महराले यो ऐतिहासिक अवसर पाएका छन् । 


प्रतिक्रिया