अस्ट्रेलिया एक दिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश

मंसिर १, २०८० | काठमाडौं

अस्ट्रेलिया एक दिवसीय पुरुष विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा साउथ अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलियाले उपाधि यात्रा तय गरेको हो । 

यो जितसँगै अस्ट्रेलियाले विश्वकप फाइनलमा आयोजक इण्डियासँगको भेट पक्का गरेको छ । अब उपाधिका लागि अस्ट्रेलियाले पर्सि आइतबार इण्डियासँग प्रतिस्पर्धा गर्नेछ । यसअघि इण्डियाले पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७० रनले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।

कोलकत्तास्थित इडेन गार्डेन रंगशालामा साउथ अफ्रिकाले दिएको २ सय १३ रनको लक्ष्य अस्ट्रेलियाले ४७ ओभर २ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो । अस्ट्रेलियाका लागि ट्रभिस हेडले ६२ रनको अर्धशतकीय इनिङस् खेले । 

स्टेभन स्मिथले ३० र डेबिड वार्नरले २९ रन जोडे । जोश इंग्लिसले २८ रन बनाएर अस्ट्रेलियालाई जितसम्म पु¥याए । साउथ अफ्रिकाका जेराल्ड कोएत्जी र ताबरिज शाम्शीले २÷२ विकेट लिए । कागिसो रबाडा, मार्करम र महाराजाले समान एक÷ एक विकेट लिए ।

यसअघि टस जितेर पहिला व्याटिङ गरेको साउथ अफ्रिकाले ४९ ओभर ४ बलमा अलआउट हुँदै २ सय १२ रन बनाएको थियो । डेभिड मिलरले शतकीय पारी खेले । १ सय १६ बलको सामना गरेका मिलरले ५ छक्का र ८ चौकाको मद्दतमा १ सय १ रन जोडे । ओपनरद्धर क्विन्टन डी कक ३ र कप्तान टेम्बा बभुमा शुन्य रनमा पवेलियन फर्किए । त्यस्तै, रस्सी भ्यान डेर डुसेन ६ रनमा आउट हुँदा एडेन मार्करामले १० रन बनाए ।

साउथ अफ्रिकाका माथिल्लो क्रमका व्याटर चल्न सकेनन् । त्यस्तै, क्लासेनले ४७ रन बनाएर आउट भएपछि व्याटिङमा आएका मार्को जेन्सेन गोल्डेन डकआउट हुँदै प्याभिलियन फर्किए । अस्ट्रेलियाका लागि मिचेल स्टार्क र प्याट क्युमिन्सले समान ३/३ विकेट लिए । त्यस्तै, ट्राभिस हेड र जोश हेजलवुडले समान २/२ विकेट हात पारे । 


प्रतिक्रिया