आर्मी र मधेश केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेटको फाइनलमा

मंसिर १४, २०८० | काठमाडौं

केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टिम त्रिभुवन आर्मी क्लब र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ ।सेमिफाइनलमा आज मधेशले सशस्त्र प्रहरीको एपीएफ क्लब र आर्मीले बाग्मती प्रदेशलाई हराउँदै फाइनल यात्रा तय गरेका हुन् । पोखरा रंगशालामा मधेशले एपीएफलाई ११ रनले हरायो । मधेशले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको एपीएफलेनिर्धारित ओभरमा ९ विकेट गुमाउँदै मात्र १ सय ८६ रन जोड्न सक्यो । एपीएफका कप्तान प्रदिप ऐरीले ५५ र सन्दिप जोराले ५४ रनको अर्धशतकीय इनिङ्स खेले पनि टिमलाई जिताउन सकेनन् । मधेशका विशाल पटेलले ३ तथा हरिशंकर शाह र प्रदिप पासवानले समान २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेशले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १ सय ९७ रन बनाएको थियो । मधेशका लागि अनिल शाहले ५७ तथा इम्रान शेखले ५० रनको अर्धशतकिय इनिङ्स खेले । एपीएफका मौसम ढकालले ३ तथा अमर रौतेलाले २ र पुरन विकले १ विकेट लिए ।

यसअघि, पहिलो सेमिफाइनलमा बाग्मती प्रदेशलाई ४ विकेटले हराउँदै आर्मी फाइनलमा स्थान पक्का गरेको थियो । १ सय २८ रनको लक्ष्य आर्मीले १५ ओभरमा६ विकेट गुमाउँदै पूरा ग¥यो । आर्मीको जितमा भीम सार्कीले सर्वाधिक ३९ रन जोडे । बाग्मतीमा कप्तान सन्दिप लामिछानेले २ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको बाग्मतीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो । बाग्मतीका लागि प्रतिकश्रेष्ठले ५० रनको अर्धशतकीय इनिङ्स खेलेपनि जितका लागि पर्याप्त भएन । आर्मीका शहाब आलमले ४ तथा सोमपाल कार्मीले २ विकेट लिए । फाइनलखेल भोली हुनेछ ।


प्रतिक्रिया