युरोकप २०२४ को ‘ड्र’ सार्वजनिक

मंसिर १७, २०८० | काठमाडौं

जर्मनीमा आयोजना हुने युरोकप २०२४ को ‘ड्र’ सार्वजनिक भएको छ । आयोजक जर्मनीले पहिलो खेलमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएको छ । गएराति म्युनिखमा सार्वजनिक गरिएको ‘ड्र’ मा जर्मनी र स्कटल्यान्ड एकै समूहमा परेका हुन् । तीन पटकको च्याम्पियन जर्मनी र स्कटल्यान्ड रहेको समूह ‘ए’ मा हंगेरी र स्विटजरल्यान्ड पनि छन् । समूह ‘बी’ मा रहेको साविक विजेता इटालीले स्पेन, क्रोएसिया र अल्बानियासँग खेल्नेछ । इटालीले इंग्ल्यान्डलाई पेनाल्टीमा पराजित गर्दै युरो २०२० को उपाधि जितेको थियो । साविक उपविजेता इंग्ल्यान्ड समूह ‘सी’ मा छ । उसले स्लोभेनिया, डेनमार्क र सर्वियाको सामना गर्नेछ ।

फ्रान्स, अस्ट्रिया र नेदरल्यान्डस समूह ‘डी’ मा छन् । यो समूहमा एक टिम प्ले अफबाट आउनेछ । स्लोभाकिया, बेल्जियम र रोमानिया समुह इ मा परेका छन् । प्ले अफ जितेर आउने टिमले यो समूहलाई पुर्णता दिनेछ । पोर्चुगलसँगै समूह एफमा परेको छ । यो समूहमा टर्की, चेक रिपब्लिक प्ले अफबाट आउने टिम हुनेछ । युरो आगामी वर्षको जुन १४ मा जर्मनीमा सुरु हुनेछ । फाइनल जुलाई १४ मा बर्लिनस्थित ओलम्पिक स्टेडियममा हुनेछ । सहभागी २४ मध्ये २१ टिमको टुंगो लाग्दा तीन टिम प्ले अफबाट आउनेछन् । 


प्रतिक्रिया