स्पेनिस ला लिगामा रियल म्याड्रिडको संघर्षपूर्ण जित

पुस १९, २०८० | काठमाडौं

एन्टोनियो रुडिगरको हेडरको मद्दतले स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा रहेको रियल म्याड्रिडले मालोर्कामाथि संघर्षपूर्ण जित हात पारेको छ । सान्टियागो बर्नाबेउ स्टेडियममा गएराति भएको खेलमा लिग लिडर रियल म्याड्रिडले मालोर्कालाई १–० गोल अन्तरले हराएको हो । 

रुडिगरले खेलको ७८ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । रियल लिगको अहिलेसम्मका १८ खेलमा अपराजित छ । यो जितले रियललाई तीन अंकको अग्रता दिलाएको छ । 

यसअघि दोस्रो स्थानको गिरोनाले तेस्रो स्थानको एट्लेटिको म्याड्रिडलाई ४–३ ले पराजित गर्दै अंकबराबरी गरेका थिए । स्पेनिस लिग सिजनमा रियल र गिरोना दुवैले १९ खेलबाट ४८ अंक बनाएका छन् । गोल अन्तरका आधारमा रियल म्याड्रिड तालिकाको शीर्ष स्थानमा छ।

यस्तै, इभान मार्टिनको गोलको मद्दतमा गिरोनाले एट्लेटिको म्याड्रिडलाई ४–३ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा गिरोनाको जितमा भ्यालेरी फर्नान्डेज, साभियो, डेली ब्लाइन्ड र इभान मार्टिनले गोल गरे । 

एट्लेटिकोका स्ट्राइकर अल्भारो मोराटाले ह्याट्रिक गरेका थिए । यो नतिजापछि एट्लेटिको मड्रिड ३८ अंकसहित तेस्रो स्थानमा छ । यस्तै, गएराति नै भएको अर्को खेलमा सेल्टा–भिगोले रियल बेटिसलाई २–१ गोल अन्तरले हराएको थियो ।


प्रतिक्रिया