एएफसी एसियन कप फुटबलमा कतारको विजयी सुरुवात

पुस २८, २०८० | काठमाडौं

एएफसी एसियन कप फुटबल प्रतियोगितामा आयोेजक टोली कतारले विजयी शुरुवात गरेको छ । शुक्रबार राति भएको उद्घाटन खेलमा कतारले लेबनानलाई ३–० गोल अन्तरले पराजित गरेको हो । 

लुसेल स्टेडियममा भएको समूह ए अन्तर्गतको खेलमा कतारका अक्रम अफिफले ४५ औं मिनेटमा पहिलो गोल गरेका थिए । त्यस्तै, खेलको ५६ औं मिनेटमा अमोइज अलिले गोल गर्दै कतारको अग्रता दोब्बर बनाएका थिए । 

कतारलाई सहज जित दर्ता गराउने क्रममा अक्रम अफिफले खेलको अतिरिक्त समयमा टोलीका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे । यो जितसँगै कतारले आफ्नो ३ अकं सहित समूह ए मा शीर्ष स्थान बनाएको छ ।

यसैबीच, एसियन कप अन्तर्गत आज तीन खेल हुँदैछन् । पहिलो खेलमा अस्ट्रेलिया र इण्डियाबीच नेपाली समय अनुसार साँझ सवा ७ बजे प्रतिस्पर्धा हुँदैछ । त्यस्तै, चीन र ताजकिस्तानबीचको दोस्रो खेल आज सवा ८ बजे हुँदा उज्वेकिस्तान र सिरियाले राति सवा ११ बजे प्रतिस्पर्धा गर्नेछन् ।

फिफा विश्वकपको सफल आयोजना गरेको डेढ वर्षमै कतारले फुटबलको अर्को ठूलो प्रतियोगिता आयोजना गरेको हो । एसिया कप सन् २०२३ मै चीनमा हुने भनिए पनि कोभिडलाई कारण देखाउँदै कतारमा सारिएको हो । 

प्रतियोगितामा एसियाका २४ देशलाई ६ समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई र उत्कृष्ट चार उपविजेता टिमले नक आउट चरणमा स्थान बनाउनेछन् ।


प्रतिक्रिया