कर्णालीका खेलाडीका लागि कर्णालीकै पोसाक

माघ २७, २०८० | वीरेन्द्रनगर

कर्णाली प्रदेशका खेलाडीहरुको लागि कर्णालीकै पोसाक तयार गरिएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले खेलाडीका लागि जर्सी र मार्चपासमा लगाउने पोसाक तयार पारेको हो । 

अब प्रदेशको पहिचान र चिनारी झल्किने पोसाकमा कर्णालीमा खेलाडीहरुले खेल्छन् । फागुन दोस्रो साताबाट देशमा हुने विभीन्न प्रतियोगिताहरुमा कर्णालीका खेलाडीहरुले कर्णाली झल्किने पोसाक लगाएर खेलमा सहभागिता जनाउने छन् । 

कर्णाली खेलकुद परिषद्ले बोर्ड बैठकबाट कर्णालीको पहिचान झल्किने जर्सी र पोसाक बनाउने निर्णय गरे अनुसार कर्णालीका खेलाडीहरुको लागि खेलकुद जर्सी र पोसाक तयार पारिएको परिषद्का सदस्य सचिव विश्वमित्र संञ्ज्यालले बताउनुभयो ।

कर्णालीमै पाइने अल्लो प्रयोग गरेर तयार पारिएको पोसाक कर्णालीका खेलाडीहरुले मार्चपासको समयमा लगाउनेछन् । कर्णालीकै धार्मिक, पर्यटकीय स्थल, दुर्लभ वन्यजन्तु याक र बहुमुल्य जडीबुटी यार्सा अंकित जर्सी लगाउनेछन् । 

जर्सीमा नेपालको झण्डा, परिषद्को लोगो, नेपालको सबैभन्दा लामो कर्णाली नदीको आकृति पनि समावेश गरिएको छ । जर्सी रातो र निलो गरी दुई वटा रंगको तयार पारिएको छ । पोसाक अल्लोको रंगकै छ ।

कर्णालीका खेलाडीहरुले खेल खेल्दा कर्णाली झल्कियोस भनेर छुट्टै खेल पोसाक बनाइएको परिषद्का सदस्य सचिव संञ्ज्यालले बताउनुभयो । ‘हाम्रो जर्सी र पोसाक देख्ने बित्तिकै कर्णालीका खेलाडी हुन् भनेर थाहा हुनेछ । देश भित्र हुने सबै प्रतियोगितामा अब कर्णालीका खेलाडीहरुले यही जर्सी र पोसाक लगाउने छन् ।’

यो जर्सी र पोसाकलाई परिषद्ले कानूनी रुपमै राष्ट्रिय खेलकुद परिषद्मा दर्ताको तयारी पनि गरिएको जनाएको छ । तयार पारिएको जर्सी र पोसाक केहि दिनमै खेलाडीहरुलाई वितरण गरिने उहाँको भनाई छ ।


प्रतिक्रिया