नेपालले वाफ च्याम्पियनसिपमा इराकको सामना गर्दै

फाल्गुन १०, २०८० | काठमाडौं

नेपाल महिला फुटबल टोलीले वाफ वुमेन्स च्याम्पियनसिपमा आज इराकको सामना गर्दैछ । 

साउदी अरेबियाको जेद्दास्थित किङ अब्दुल्लाह स्पोर्टस सिटीमा हुने नेपाल र इराकबीचको खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ । 

पश्चिम एसियाली फुटबल संघ वाफले आयोजना गरेको प्रतियोगितामा नेपालले आजको खेल जिते सेमिफाइनल प्रवेश गर्ने अवसर पाउनेछ । 

समूह बी मा रहेको नेपालले यसअघि आफ्नो पहिलो खेलमा सिरियालाई ४–१ गोल अन्तरले हराएको थियो । पहिलो खेलमा सानदार जित निकालेको नेपाल तीन अंक सहित समूह बीको शीर्ष स्थानमा छ । 

इराक भने आफ्नो पहिलो खेलमा प्यालेस्टाइनसँग ३–० ले पराजित भएको थियो । समूह चरणको अर्को खेलमा आजै सिरिया र प्यालेस्टाइनबीच प्रतिस्पर्धा हुनेछ । समूह चरणको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनको सामना गर्नेछ । 

प्यालेस्टाइन बलियो टोली रहेका कारण नेपालले सेमिफाइनल सम्भावना बलियो बनाउन आज इराकलाई हराउनुपर्ने हुन्छ । 

इराकले पहिलो खेलमा प्यालेस्टाइनसँग पराजय बेहोरिसकेकाले पनि उसको सेमिफाइनल सम्भावना कम छ । त्यसैले इराक खेलमा जित दर्ता गरेर सेमिफाइनल सम्भावना कायमै राख्ने योजनामा छ । 


प्रतिक्रिया