क्रिकेट लिग–टू मा नेपाल नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन १३, २०८० | काठमाडौं

आईसीसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गतको सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १ सय ७३ रनको लक्ष्य नेदरल्यान्ड्सले ७३ बल अगावै २ विकेट गुमाएर पूरा ग¥यो । विक्रमजित सिंह र सिब्रान्ड इन्गेलब्रेक्टले तेस्रो विकेटमा १ सय २ रनको अविजित साझेदारी गरेपछि डच टोलीले सहज जित हात पारेको हो । त्यसअघि, पहिले ब्याटिङको निम्तो पाएको नेपाल ४९ ओभर ३ बलमा १ सय ७२ रनमा अलआउट भएको थियो । 

नेपालका ओपनर कुशल भुर्तेलले ६६ रनको अर्धशतकीय इनिङ्स खेले पनि अन्य ब्याटरले राम्रो स्कोर जोड्न सकेनन् । करण केसी २६, आरिफ शेख २२, आसिफ शेखले १७ र कप्तान रोहितकुमार पौडेल १६ रनमा आउट भए । लिग–टू अन्तर्गतको सिरिजमा नेपालले खेलेका चारमध्ये तीन खेलमा हार व्यहोरेको छ । पहिलो सिरिज सकिँदा नामिबिया ६ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको नेदरल्यान्ड्सको ४ अंक छ भने नेपाल २ अंकसहित तेस्रो स्थानमा छ । 


प्रतिक्रिया