साफ यू–१६ महिला च्याम्पियनसिपमा नेपालसँग भुटान ३–० गोल अन्तरले पराजित

फाल्गुन २१, २०८० | काठमाडौं

साफ यू–१६ महिला च्याम्पियनसिप अन्तर्गत लिग चरणको आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।

 एन्फा कम्पलेक्समा सम्पन्न खेलमा नेपालका लागि पुजा गिरी, भुमिका बुढाथोकी र ग्यान्सु डोल्मा लोले १–१ गोल गरेका थिए । आजको खेलको १४ औं मिनेटमा पुजा गिरीले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार भुटानी गोलरक्षक केल्जाङ वाङमोले रोक्न नसकेपछि नेपालले अग्रता लिएको थियो ।

 चार मिनेटपछि कप्तान भुमिका बुढाथोकीले नेपालको अग्रता दोब्बर पारिन् । २९ औं मिनेटमा ग्यान्सु डोल्मा लोले नेपालका लागि तेस्रो गोल गरिन् । जितपछि नेपालको ३ अंक भएको छ । समान ३–३ अंक जोडेपनि गोल अन्तरमा भारत पहिलो, बंगलादेश दोस्रो र नेपाल तेस्रो स्थानमा छन् ।

 नेपालले तेस्रो खेलमा आगामी विहिवार भारतसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो खेलमा नेपाल बंगलादेशसँग २–० ले पराजित भएको थियो । भारतले भुटानलाई ७–० ले हराएको थियो । भोलि भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । समूह चरणका शीर्ष दुई टोलीबीच फाइनल हुनेछ ।


प्रतिक्रिया