टी-२० आई सिरिजको उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स भिड्दै

फाल्गुन २२, २०८० | काठमाडौं

त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधिका लागि नेपालले आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र नेदरल्याण्ड्सबीचको खेल बिहान साढे ११ बजे सुरु हुनेछ । 

आगामी टी–२० विश्वकप अघि नेपाल र नेदरल्यान्ड्ससामु एक–अर्कालाई जाँच्ने राम्रो अवसर पनि हुनेछ । नेपाल, नेदरल्याण्ड्स र नामिबिया सम्मिलित सिरिजको उपाधि जित्ने लक्ष्यमा नेपाल छ । 

घरेलु मैदानमा समर्थकको पनि उल्लेख्य साथ रहने भएकोले नेपालको मनोबल उच्च छ । नेपाल चार खेलमा चार अंकसहित फाइनलमा प्रवेश गरेको हो । नेदरल्याण्ड्स भने चार खेलबाट पाँच अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । 

जारी प्रतियोगितामा यी दुई टिम तेस्रो पटक आमने सामने हुन लागेका हुन् । यसअघि लिगको पहिलो खेलमा नेदरल्याण्ड्सले नेपालमाथि २ रनको जित हात पारेको थियो । 

दोस्रो खेलमा भने नेपालले डच टोलीलाई ६ विकेटको जित निकालेको थियो । नेपाल क्रिकेट संघ क्यानले आज हुने त्रिकोणत्मक टी–२० आई सिरिजको फाइनल खेलका लागि १२ हजार टिकट बिक्री भईसकेको जानकारी दिएको छ । 


प्रतिक्रिया