छैटौँ खड्ग प्रसाद गौचन ममोरियल यू–१९ क्रिकेट आज सुरु हुँदै

चैत्र १०, २०८० | तिलोत्तमा

रुपन्देहीको तिलोत्तमामा आज (शनिबार) बाट छैटौँ खड्ग प्रसाद गौचन ममोरियल अन्डर–१९ क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । 

पूर्व क्रिकेटर शक्ति गौचनले सञ्चालन गर्दै आएको स्टार क्रिकेट एकेडेमीको आयोजना तथा क्रिकेट एसोसिएसन अफ रुपन्देहीको सहकार्यमा हुन लागेको प्रतियोगिता चैत २० गतेसम्म चल्नेछ । 

गौचनले आफ्ना बुबाको नामबाट सुरु गरेको सो प्रतियोगितालाई छैटौँ संस्करणबाट राष्ट्रिय स्तरको प्रतियोगिता बनाएका छन् । तिलोत्तमास्थित एक्साट्रेक ओभल क्रिकेट मैदानमा हुने प्रतियोगिताका पहिलो चरणका खेल लिगका आधारमा हुने आयोजकले जनाएको छ । 

पाँचौं संस्करणसम्म रुपन्देहीका क्लब तथा एकेडेमीको मात्र सहभागिता रहँदै आएकोमा छैटौँ संस्करणबाट जिल्ला बाहिरका क्लबलाई पनि सहभागी गराउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा रुपन्देहीका ४ तथा अन्य जिल्लाका ४ गरी ८ टोलीलाई सहभागी हुँदैछन् । ८ वटा टीमलाई दुई समूहमा विभाजन गरिएको छ । 

समूह ए मा भैरहवाको स्टार क्रिकेट एकेडेमी, झापाको बोस्टन क्रिकेट क्लब, बुटवलको वेष्टर्न क्रिकेट एकेडेमी र मदन भण्डारी स्पोर्ट्स एकेडेमी रहेका छन् । 

यस्तै, समूह बी मा काठमाडौंको पल्सर सीइसी, जिल्ला क्रिकेट संघ कास्की, धनगढी क्रिकेट एकेडमी डीसीए र न्यू होराईजन स्पोर्ट्स क्लब छन् । 

गौचनका अनुसार पहिलो चरणको खेल लिग प्रणालीमा खेलाइनेछ र लिग चरणको प्रत्येक खेल २५ ओभरको हुनेछ । प्रतियोगितामा प्रत्येक समूहका शीर्ष २ टिमले सेमिफाइनलमा स्थान बनाउने छन् ।

सेमिफाइनल र फाइनल खेल भने ४० ओभरको हुनेछ । अन्डर–१९ क्रिकेट प्रतियोगिता फाइनल खेल चैत २० गते हुनेछ । 

प्रतियोगिताको विजेता टिमले ५० हजार र उपविजेता टिमले २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउने छन् । यस्तै, उत्कृष्ट खेलाडीलाई ५ हजार, बेस्ट ब्याटर र बलरलाई ३–३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । 


प्रतिक्रिया