फिफा विश्वकपको छनोटमा नेपाल बहराइनसँग पराजित

चैत्र १४, २०८० | काठमाडौं

फिफा विश्वकप फुटबलको एसियाली छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग पराजित भएको छ । बहराइनको रिफास्थित नेसनल स्टेडियममा गएराति भएको खेलमा नेपाल घरेलु टोलीसँग ३–० गोल अन्तरले पराजित भएको हो । 

बहराइनले तीनै गोल पहिलो हाफमा गरेको हो । उसका लागि सायद बाकर, अब्दुल्लाह युसुफ हलाल र कोमाइल इल्सवादले एक समान एक–एक गोल गरे । नेपालले बहराइनसँग लगातार दोस्रो हार व्यहोरेको हो । 

यसअघि गत बिहीबार भएको छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपाललाई बहराइनले ५–० गोलको फराकिलो अन्तरले हराएको थियो । समूह चरणको खेलमा भने नेपालको यो लगातार चौथो हार हो ।

नेपाल रहेको समूह ‘एच’ मा संयुक्त अरब इमिरेट्स यूएई र यमन रहेका छन् । सोही समूहको गएराति भएको अर्को खेलमा यूएईले यमनलाई ३–० गोल अन्तरले हराएको छ । 

यो नतिजापछि यूएई १२ अंक सहित समूह ‘एच’ को शीर्ष स्थानमा छ भने बहराइन ९ अंकका साथ दोस्रो स्थानमा छ । तेस्रो स्थानको यमनको ३ अंक छ । 

आफ्नो चार वटै खेलमा पराजित हुँदै अंकविहीन बनेको नेपाल पुछारमा छ । अब छनोटका बाँकी दुई खेलमा नेपालले यूएई र यमनको सामना गर्नेछ । नेपालले बाँकी दुई खेल भने आगामी जुनमा खेल्नेछ । 


प्रतिक्रिया